पश्चिमी गण्डक नहरमा डल्फिन भेटियो
श्याम थापा
सुस्ता १६ चैत्र
पश्चिम नवलपरासीको प्रतापपुर स्थित पश्चिमी गण्डक नहरमा एक वटा डल्फिन नामक जलचर प्राणी भेटिएको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिका ७ गुठीसुर्यपुरा स्थित पश्चिमी गण्डक नहरमा आज शुक्रवार दिउँसोको समयमा एक वटा डल्फिन भेटिएको छ भने भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक तथा ईलाका प्रहरी कार्यालय बेलाटारी र गुठिप्रसौनी प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकाको त्रिबेणि स्थित नारायणी नदीमा छाडिएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी गराएको छ ।
केही दिन देखि सुर्यपुरामा रहेको गण्डक विद्युत गृहको बाँध आसपास पानी कम भएको मौकामा स्थानीयले डल्फिनको खोजी गर्दै आएका थिए । उक्त डल्फिल त्रिवेणीस्थित गण्डक बाँधबाट भारतीय नहर हुदै सुर्यपुरा विद्युत गृहको बाँध सम्म आईपुगेको हुन सक्ने प्रहरीले बताए ।
पश्चिमी गण्डक नहरमा भेटिएर उद्घार गरिएको डल्फिन अनुमानित ७० देखि ७५ किलोको रहेको र लम्बाई ६ फिट भन्दा बढी रहेको जिल्ला बन कार्यालयले जनाएको छ ।
एक घण्टामा झण्डै ६० किलोमिटरसम्मको गतिमा यात्रा गर्न सक्ने डल्फिन नेपालमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी हो ।