आगलागी बाट सजग रहौं,सजग गराऔं ।

लेखक:- ज्ञान प्रसाद पाठक(सन्तोष)

पछिल्लो केही दिन देखि देशका बिभिन्न स्थानहरुमा आगलागीको खबर आईरहेको छ !आगलागी विभिन्न कारणहरुबाट हुने गर्दछ । जस्तैः भान्साबाट आगो उत्पन्न हुनु, खाना पकाउने ग्यास लिख भई आगो उत्पन्न हुनु, एक स्थानबाट बलेको आगो अन्यत्र सल्किनु, बिजुलीको तार सर्ट हुनु,सलाई, लाइटरको लापरवाहीपूर्ण प्रयोग, लामखुट्टे धपाउने धुप बाल्नु, सवारीसाधनमा अचानक आगो लाग्नु र थे्रसरबाट गहुँ झार्ने क्रममा अचानक आगो निस्किई आगलागी हुनु तथा अन्य विभिन्न कारणहरुका कारणले गर्दा आगलागी हुने गरेका छन् ।

चट्याङ लगायतका कारणहरुबाट पनि आगलागी हुने सम्भावना बढिरहेको छ । ती विभिन्न कारणबाट हुने आगलागीका कारण ठूलो जनधनको क्षति हुने गरेको पाइन्छ । हाम्रो थोरै हेलचेक्र्याइले गर्दा जिव र करोडौंको नोक्सानी हुने गर्छ ।

गर्मी महिना शुरु भएसँगै आगलागीका घटनाहरु बढ्न थाल्छन् । आगलागी आगोका कारणबाट मात्र नभएर अन्य कारणहरुबाट पनि हुने गर्छ ।मौसमको परिवर्तनसँगै पृथ्वीमा आउने विभिन्न प्रकारका मौसमी तथा ऋतु परिवर्तनका गतिविधिहरुले गर्दा वर्षेनि आगलागीका घटनाहरुमा वृद्धि भई ठूलो धनजनको क्षति हुने गरेको छ । विशेषगरी हेमन्त ऋतु, शिशिर ऋतु, बसन्त ऋतु तथा ग्रिष्म ऋतुमा आगलागीका घटनाहरु बढी हुने गरेका छन् ।

दिनहुँ कतै न कतै आगलागी भएकै हुन्छ । आगो ताप्दा वा खाना बनाउँदा आगोले पोलेर ज्यान जाने तथा गम्भीर घटना हुने पनि उत्तिकै सुनिन्छ । बालबालिका र भान्सामा काम गर्ने मानिस आगोको जोखिममा बढी हुन्छन् । आगलागी हुने वा आगो प्रयोग गर्दा विभिन्न दुर्घटना हुने अनेक कारण छन् । आगो र मानिसबीचमा नजिकको सम्बन्ध रहेको छ ।

परापूर्वककालदेखि नै दैनिक जीवनयापन गर्ने क्रममा खाना बनाउने जस्तो तथा अन्य कुराहरु गर्न आगोको अति आवश्यक वस्तु हो । पहिलाको समयमा विद्युतको अभाव भएको बेलामा पनि आगोको माध्यमबाट रातको समयमा एक ठाउँबाट अर्को ठाउँमा आवत–जावत गर्ने प्रचलन रहिआएको थियो ।

विभिन्न किसिमका युद्धहरुमा पनि आगोको माध्यमबाट मानिसले शत्रुहरुसँग विजय प्राप्त गरेका थिए । हाल २१औं शताब्दीसम्म आई पुग्दा पनि मानिहरुले आगोलाई विभिन्न माध्यमद्वारा उपयोग गरिरहेका छन् । वास्तवमा आगो भएन भने मानिसको जीवन चल्न गाह्रो हुने गर्दछ । तर, त्यही अत्यावश्यक आगो जुन हामीलाई नभई हुँदैन त्यही आगोले हामी मानिसको ज्यान लिनुको साथै हाम्रा संरचनाहरु पनि सखाप बनाउँदछ ।

विभिन्न प्रकारका उद्योग तथा कलकारखानाको पनि विनास गराउन आगो सफल बन्दछ । नेपालमा मात्र नभएर संसारभरि नै आगोले मानिस, कलकारखाना तथा वन जंगलहरुमा ठूलो क्षति पुर्याउछ।
दिनँहुजसो कही न कही हुने गरेको यस्तो आगलागीको घटनाबाट ठूलो जीउघनको क्षति भएको अवस्थमा पनि प्रभावकारी रुपमा रोकथामको कार्य भएको छैन । आगोे नियन्त्रण तथा रोकथाम गर्ने प्रभावकारी उपकरण बारुणयन्त्र तथा दमकलको अझैं पनि नेपालका सबै स्थानीय तहहरुमा पुर्याउन सकेको छैन । दमकल जस्तो अत्यावश्यक उपकरणलाई सबै स्थानीय तहहरुले प्राथमिकताका साथ खरिद गरेको पनि पाइँदैन ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दमकल जस्तो अत्यावश्यक उपकरणको सञ्चालन गर्ने जिम्मा स्थानीय सरकारलाई नै दिएको छ । त्यस्तै, विपद् जोखिम तथा न्यूनीकरण ऐन, २०७४ ले पनि दमकलको सञ्चालन गर्ने जिम्मा स्थानीय तहहरुलाई नै दिएको छ । नेपालको वार्षिक बजेटमा पनि प्रत्येक स्थानीय तहमा दमकल राख्नुपर्ने भनी व्यवस्था गरेको छ । यस्तो अत्यावश्यक उपकरण दमकललाई सबै स्थानीय तहहरुले खरिदको प्रक्रिया चाडो अगाडि बढाउनुपर्ने देखिन्छ ।

जुन स्थानीय तहहरुमा दमकलको व्यवस्था छ ती स्थानीय तहहरुले दमकललाई तयारी अवस्थामा राखेर सञ्चालन गर्नुपर्दछ । स्थानीय तहलाई दमकल सञ्चालनको जिम्मा दिएता पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई पनि दमकलको व्यवस्था गर्नुपर्दछ । ती सूरक्षा निकायका मानिसहरु आगलागी तथा अन्य विपत्ति परेको बेलामा सबैभन्दा छिटो पुग्ने तथा अग्रपक्तिमा रहेर काम गर्नुपर्ने भएको हुँदा ती सुरक्षा निकायलाई पनि दमकलको व्यवस्था गर्न सकेमा अझै प्रभावकारी हुने देखिन्छ ।

त्यसैले यस्ता आगलागीका घटनाहरुबाट बच्नको लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ । जस्तैः सलाई, लाइटर जस्ता आगोजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्ने, घरको शयनकक्ष वा अन्य आवश्यक स्थानहरुमा स्मोक डिटेक्टर राख्ने, अनिवार्य रुपमा घरमा फायर इट्रिङ्गेसर राख्ने तथा कसरी प्रयोग गर्ने भन्ने कुरा परिवारका सबैलाई जानकारी गराउने ।

आगलागी भएको अवस्थामा घरभित्र नलुक्ने तथा परिवारका सबैलाई चाडो बाहिर निकाल्ने, धुँवा भएको स्थानबाट बाहिर निस्कँदा घोप्टो परेर वा घस्रेर निस्कने, लगाएको कपडामा आगोले भेट्यो भने कदापि नदौडिने दौडदाखेरी आगो अझ बढि बल्ने हुँदा कपडामा लागेको आगो निभाएर मात्रै दौडने र आगलागी भएको जानकारी हुनसाथ नजिकको प्रहरी कार्यलय वा प्रहरी कन्ट्रोल १०० वा दमकल सेवा १०१ लाई जानकारी गराउनु पर्दछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *