सुस्तामा सामुदायिक स्वास्थ्य इकाई केन्द्र भवनको उद्द्घाटन
श्याम थापा
सुस्ता २६ चैत्र
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणी नदि पारी रहेको गाउँ सुस्तामा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन एक कार्यक्रम गरि बिधिवत रूपमा उद्द्घाटन गरिएको छ ।
फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्चको आधारभुत स्वास्थ्य परियोजना र सुस्ता गाउँपालिकाको कार्यालयको संयुक्त लगानीमा नारायणी नदि पारीको गाउँ सुस्तामा निर्माण भएको २ कोठे भवनको सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्याय र फेयर मेड फाउन्डेसन नेपालका राष्ट्रिय संयोजक निर्मला शर्माले संयुक्त रूपमा उद्द्घाटन गरेका हुन् ।

आधारभुत स्वास्थ्य परियोजनाबाट ५ लाख र सुस्ता गाउँपालिका कार्यालयबाट ३ लाख गरि ८ लाखमा निर्माण भएको २ कोठे स्वास्थ्य केन्द्र भवनबाट सेवा सुभारम्भका लागि पुनः परियोजनाले करिब ४ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरि भवनको उद्द्घाटन र सो भवनबाट आइतबार देखि सेवा सुभारम्भ भएको छ ।
जिल्लाको सुस्ता गाउँपालिका वडा न ५ स्थित नारायणी नदि पारी रहेको गाउँ स्वास्थ्य र शिक्षा तथा यातायात र भौतिक क्षेत्रमा पछाडि परेको गाउँ हो उक्त गाउँमा करिब ३ सय घरधुरी रहेको छ भने बर्षेनि ८ देखि ९ जना महिला दिदिबहिनीहरु गर्भवती सेवा लिने गरेको स्वास्थ्य केन्द्रको तथ्यांकमा उल्लेख गरिएको देखिन्छ तर पीडा के हो भने ती गर्भवती भएको महिला दिदीबहिनीहरु सुत्केरी हुनको लागि घरमै हुन बाध्य रहेको छ । दक्षिणमा र पुर्वमा भारत पश्चिममा नारायणी नदि भएको कारण सुत्केरी हुन लागेको महिलालाई बाटोको कारणले आवतजावत गराउन समस्या रहेकोे कारण घरमै सुत्केरी हुने बाध्यताले गर्दा यस बर्ष पनि १ जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य केन्द्रका प्रमुख अशोक चौधरीले बताएका छन् ।

भवनको उद्द्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका बिशेष अतिथि एवं फेयर मेड फाउन्डेसन नेपालका राष्ट्रिय संयोजक निर्मला शर्माले फेयर मेड फाउन्डेसन नेपालको आधारभुत स्वास्थ्य परियोजनाले सीमान्तकृत बर्ग समुदायमा रहेर गरिबी र सरसफाइको कमिबाट लाग्ने रोगहरुबाट नागरिकलाई स्वास्थ्य क्षेत्रमा पहुँच बढाई लाभ लिनेे वातावरण निर्माण गर्ने र समुदायमा कुनै पनि अतिबिपन्न तथा सीमान्तकृत समुदायहरु स्वास्थ्य सेवा बन्चित नहुने गरि सेवा प्रदान गराउन सेवाप्रदायक निकायहरुसंग निरन्तर सहकार्य गरि सेवा प्रदायक निकायलाई सेवाग्राही प्रती उत्तरदायी तथा जवाफदेही बनाउनको लागि आधारभुत स्वास्थ्य परियोजना लागू गरि नेपालको ३ वटा जिल्ला नवलपरासी,कपिलवस्तु र रुपन्देहीमा सन २०१९ देखी काम गर्दै आइरहेको जानकारी गराइन ।
फेयर मेड फाउन्डेसन नेपालका राष्ट्रिय संयोजक शर्माका अनुसार आधारभुत स्वास्थ्य परियोजनाले स्वास्थ्य प्रणालीमा सुधार ल्याउन,उपेक्षित उष्ण प्रदेशिय रोगबाट प्रभावित ब्यक्तिहरुलाई प्रभावित हुनबाट जोगाउन,नवजात शिशु तथा मातृ मृत्युदर न्यूनीकरण गर्न,अपाङ्गता तथा लैङ्गिक समावेशी र खानेपानी सरसफाइलाई मुल बिषय बनाई ३ वटा जिल्लाको स्थानीय तहलाई कार्य क्षेत्र बनाई स्वास्थ्य क्षेत्रमा पालिकाहरु संग सहकार्य गरेर काम गर्दै आईरहेको बताईन ।

सो स्वास्थ्य केन्द्र भवन उद्द्घाटन र नयाँ भवनमा स्वास्थ्य सेवाको सुभारम्भ कार्यक्रमलाई सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले सम्बोधन गर्दै यस्तो बिकट ठाउँमा पनि आफ्नो कार्य क्षेत्र बनाई सुस्ताबासिको स्वास्थ्य प्रती यति गम्भीर भइदिएकोमा फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्चलाई धन्यवाद व्यक्त गर्नुको साथै पालिकाले स्वास्थ्य क्षेत्रमा लिएको लक्ष्यमा पालिकाको सहयात्री भइ दिएकोमा दुबै संस्थालाई आगामी दिनमा पनि यसरी काम गर्दै जानको लागि आग्रह पनि गरेका छन् भने पालिका अध्यक्षले संघसंस्थाले दिएको सामग्रीहरुको जतन तथा ख्याल गर्न स्थानीयको हातमा हुने भएकोले स्वास्थ्य केन्द्रमा रहेको भवन र सामग्रीहरुको सुरक्षा सुस्ताबासीले गरिदिनु पर्ने बताएका छन् ।

त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्रेणी सामाजिक बिकास मञ्चका अध्यक्ष होमराज कुवरले इन्द्रेणी ग्रामीण क्षेत्रमा बिगत बर्ष देखि काम गर्दै आईरहेको र इन्द्रेणीले बिशुद्द ग्रामिण क्षेत्रको विभिन्न समस्यामा मलहम लगाउने काम गर्दै आइरहेको र त्यही कारणले गर्दा सुस्तालाई पनि आफ्नो कार्य क्षेत्र बनाएर सुस्ताबासीको स्वास्थ्यलाई मध्यनजर गरेर परियोजना र पालिकाबाट स्वास्थ्य इकाई केन्द्र भवन निर्माण गरेको बताए ।
नारायणी नदि पारी रहेको बिकट रूपमा मानिने सुस्तामा अतिबिपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्यलाई मध्यनजर गर्दै नेपाल सरकारले २०६९ सालमा स्थापना गरेको सामुदायिक स्वास्थ्य इकाईको एउटा टिनको छानोमा रहेको सानो घरबाट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहदा बाढीको समयमा विभिन्न समस्या भोग्न परेको र सेवालाई नै अवरोध हुने जस्ता विभिन्न समस्या स्वास्थ्य कर्मचारीले मात्र नभई सेवाग्राहीले भोग्न समस्याको भने अब केहि हदसम्म समाधान हुने सुस्ता सामुदायिक स्वास्थ्य इकाई केन्द्र सुस्ताका प्रमुख अशोक कुमार चौधरीले बताए ।