सुस्ता बचाउका अभियान्ता स्वर्गीय गुरुङ्गको प्रथम स्मृति कार्यक्रम सुस्तामा
श्याम थापा
सुस्ता १० माघ
नेपालको ऎतिहासिक भुमि सुस्ताका नेता एवं सुस्ता बचाउ अभियानका अध्यक्ष स्वर्गीय गोपाल गुरुङ्गको सम्झनामा प्रथम स्मृति कार्यक्रम पश्चिम नवलपरासीको नारायणी नदि पारी सुस्ता गाउँमा गरिएको छ ।
सुस्ता बचाउ अभियान सुस्ता नवलपरासीको आयोजना भएको सुस्ता बचाउ अभियानका अध्यक्ष एवं अभियान्ता स्वर्गीय गोपाल गुरुङ्गको प्रथम स्मृति कार्यक्रममा सुस्ता बचाउ अभियानका कार्यबाहक अध्यक्ष आदम हुसेनको अध्यक्षयता,लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगरको प्रमुख अतिथ्यतामा,लुम्बिनी प्रदेश सभाका सदस्य माननीय देवकरण प्रसाद कलवार( सन्तु) र सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको बिशेश अतिथ्यतामा कार्यक्रम भएको हो ।

स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभाका प्रमुख माननीय तुलाराम घर्ती मगरले सुस्ताको समस्या सुस्ताबासीको मात्र नभई यो राष्ट्रको नै समस्या हो सुस्ताको समस्यालाई सुस्ताबासीले मात्र नभई साझा समस्याको रूपमा लिएर अघि बढाउनुपर्ने बताएका छन् । प्रदेश सभामुख घर्ती मगरले सुस्ताबासीको नागरिकता र लालपुर्जाको समस्यालाई समाधान गर्न प्रदेश सरकारले पहल कदमी चाल्ने पनि सुस्ताबासीहरुसंग कार्यक्रममा बाचा गरेका छन् ।
त्यस्तै स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभाका सदस्य माननीय देवकरण प्रसाद कलवार(सन्तु)ले सुस्ताबासीको समस्याको पिडालाई आफ्नो पीडा मानेर आफू प्रतिनिधि हुदा या नहुदा निरन्तर पिडालाई समाधान गर्न लागी परेको र निरन्तर लाग्ने बताउनुको साथै सुस्तामा स्वर्गीय गोपाल गुरुङ्गले गरेको उल्लेखनीय कार्यलाई सम्झिदै सुस्तामा स्वर्गीय गुरुङ्गको योगदानलाई निरन्तर कदर होस भन्ने आशा पनि व्यक्त गरेका थिए ।

त्यसैगरी स्मृति कार्यक्रममा सम्बोधन गर्दै सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले सुस्ताका अभियान्ता स्वर्गीय गोपाल गुरुङ्गलाई बर्षमा एकदिन मात्र सम्झेर नहुने किन भने भारतीयको ज्यादती र भुमि अतिक्रमण रोक्नका लागी आफ्नो जिउ ज्यान फालेर सुस्ता भुमीको लागि लाग्ने गुरुङ्गलाई सुस्ताबासीको हरेक नागरिकको दिल र दिमागमा राख्नुपर्ने र गुरुङ्गले देखाएको र गुरुङ्गले सुस्ताको भुमिका लागी लिएको संकल्पमा सधै त्यही बाटोमा सुस्ता बचाउ अभियान र सुस्ताबासी लाग्नुपर्ने बताए ।

सो स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै सुस्ता बचाउ अभियानका सल्लाहकार एवं अभियान्ता किशन शर्मा गैरेले सुस्ता बचाउले भारतीयले भुमी अतिक्रमण गर्न लाग्दा सुस्ताबासि र सुस्ता बचाउ अभियानले सडक देखि सदन सम्म गरेको आन्दोलनको ऎतिहास बताउदै स्वर्गीय गोपाल गुरुङ्ग एक सच्चा देशभक्त नागरिक रहेको भन्दै स्वर्गीय गोपाल र आन्दोलनको क्रममा नै जाडोले कठ्याङ्गिएर मृत्यु भएको सुस्ताका स्वर्गीय रामानन्द हरिजनलाई सम्झिएका थिए ।
स्मृति कार्यक्रममा स्वर्गीय गोपाल गुरुङ्गका छोरी पसन्द गुरुङ्गले आफ्नो बुबाको सम्झनामा प्रथम स्मृति कार्यक्रम आयोजना गरेका सुस्ता बचाउ अभियानका सम्पुर्ण पदाधिकारी र कार्यक्रममा उपस्थित सम्पुर्ण ब्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सुस्ता बचाउ अभियानका प्रबक्ता रबिन्द्र कुमार बनियाले संचालन गरेका थिए ।