नेपाल पत्रकार महासंघ नवलपरासीले गर्यो जिल्लाको सात वटै स्थानीय तह संग सञ्चार संवाद
श्याम थापा
नवलपरासी ३१ बैषाख
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले जिल्ला स्तरीय सञ्चार संवाद कार्यक्रम गरेको छ । देशमा महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागी जिल्लाको सात वटै स्थानीय तह,जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति,जिल्ला स्वास्थ कार्यालयले गरेको गतिविधि,लकडाउनको अवस्था,क्वारेन्टाइनको अवस्था र राहत वितरण सम्बन्धि बिषयमा रहेर संचालन भएको जिल्ला स्तरीय संवाद कार्यक्रममा ३ नगरपालिका र ४ गाउँपालिकाका प्रमुखहरु,जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख,जिल्ला समन्वय समिती पश्चिम नवलपरासीका प्रमुख र स्वास्थ्य कार्यालय परासीका प्रमुखको उपस्थित रहेको थियो । संवाद कार्यक्रममा स्थानीय तहबाट सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्री (भरत),रामग्राम नगरपालिकाका प्रमुख नगेन्द्र कुमार गुप्ता,बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल,सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेय,प्रतापपुर गाउँपालिकाका प्रमुख राजकुमार शर्मा,सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरी,पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक),जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख बासुदेव दाहाल,जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख शिवशंकर राय र जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकाल रहेका थिए । पछिल्लो समयमा छिमेकी राष्ट्र भारतले भारतमा कामको शिलशिला रहेका नेपाली नागरिकहरुलाई नेपाल पठाउन थालेपछि पश्चिम नवलपरासीलाई यतिखेर कोरोनाको उच्च जोखिम रहेको र जोखिम न्यूनीकरण गर्नका लागि चुनौती हुन थालेको छ । जिल्लामा कोरोनाको जोखिम न्यूनीकरणका लागी चुनौती बढ्न थालेपछि नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले सात वटै स्थानीय तहका प्रमुख,जिसस प्रमुख,जिल्ला प्रशासन प्रमुख,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख र पत्रकार बिच जिल्ला संवाद कार्यक्रम संचालन गरिएको नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले बताएका छन । संवाद कार्यक्रम नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माको अध्यक्षयतामा र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख शिवशंकर रायको प्रमुख अतिथ्यतामा भएको हो । संवाद कार्यक्रममा ७ वटा स्थानीय तहका प्रमुखहरुले कोरोना जोखिम रोकथाम,लकडाउनको अवस्था र राहत वितरणको अवस्था बारे आ आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए । जस मध्येमा सुनवल नगरपालिकामा १ वटा क्वारेन्टाइन,रामग्राम नगरपालिकामा १ वटा क्वारेन्टाइन,बर्दघाटमा प्रत्येक वडामा ५० बेडको क्वारेन्टाइन निर्माणको थालनी,सुस्ता गाउँपालिकामा ६ वटा क्वारेन्टाइन,प्रतापपुर गाउँपालिकामा ३ वटा क्वारेन्टाइन,सरावल गाउँपालिकामा २ वटा क्वारेन्टाइन र पाल्हीनन्दनमा २ वटा क्वारेन्टाइन रहेको छ भने सुनवल नगरपालिकाको क्वारेन्टाइनमा ११ जना,रामग्राम नगरपालिकाको क्वारेन्टाइनमा ३७ जना,बर्दघाट नगरपालिकाको क्वारेन्टाइनमा १० जना,सुस्तामा ७८ जना,प्रतापपुरमा ६५ जना,सरावलमा २३ जना र पाल्हीनन्दनमा ६२ जना रहेका छ्न । जिल्लामा ४ सय २० जनाको पिसिआर स्वाब नमुना संकलन गरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो भने त्यस मध्येमा २ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले जानकारी गराएका छ्न ।