खुल्ला सिमाना :कोरोना त्रास
लेख:सागरमणि पाण्डेय/सन्तोष पाठक
हाम्रो देश नेपालको उत्तर सिमाना तर्फ रहेको छिमेकी मुलुक चिनको हुवान प्रान्तबाट सुरु भएको बिश्वब्यापी महामारी रोग कोरोना भाइरस अर्थात कोभिड -१९ ( Covid -19 ) बिश्वका २ सय १० मुलुकमा फैलिसकेको छ । वर्तमान समयमा विश्व कोरोना भाइरस बाट लडी रहेको बेला नेपाल पनि अछुतो रहन सकेन। नेपाल मा पनि अन्य मुलुक को तुलनामा संक्रमित संख्या कम रहे पनि यसबाट हामी पारपाइसकेको अवस्था भने होइन। बाह्य मुलुकबाट आएका संक्रमित ब्यक्तिबाट सरेको यो रोग हाम्रा दुई छिमेकी मुलुक भारत र चीन बाट आएका संक्रमित व्यक्तिहरूका कारण पनि जोखिम बढेको छ।यद्यपि चीन बाट को सिमाना बाट भन्दा दक्षिण तिर भीमकाय मुलुक भारत जहां १३०करोड जनसंख्या रहेको छ उक्त मुलुक संग हाम्रो देश को १,२,३,४,५,७ को सिमाना खुल्ला र अव्यवस्थित रहेको कारण जोखिम झन् बढ्दो छ।
महाशक्ति राष्ट्रहरु लगायत युरोपेली राष्ट्रहरू पनि यस कोरोना भाइरससँगको लडाई सजिलै जित्न नसकिने भइयो भनेर हायल कायल अवस्थामा छन् । अमेरिकाले २ लाख नागरिक मर्नसक्ने अनुमान गरेको छ भने जापानले स्वास्थ्य आपतकालको घोषणा गरेको छ । यस महामारीले ठूलो संख्यामा मानिस सङ्क्रमित मात्र बनाएको छैन त्यही क्रममा ज्यान पनि लिएको छ । संसार नै एक किसिमले अस्तब्यस्त छ । १ लाख भन्दा बढीले ज्यान गुमाइसकेको अवस्था छ । एउटा सुखद पाटो नेपालमा १४जनामा मात्र कोरोना संक्रमण देखापरेको छ । साथै यसको निराशाजनक पक्ष भनेको संसारभरिका बैज्ञानिकहरु लागिपर्दा आजसम्म पनि यसको औषधि पत्ता नलाग्नु र हाम्रो छिमेकी भारतमा यो क्रमशः फैलिएकाले गर्दा पनि हो ।
खुल्ला सिमाना यथार्थमा अव्यवस्थित सिमाना को रूपमा रहेको छ ।सीमा वारपार आवतजावत गर्न दुवै तर्फका मानिसलाई रोकटोक परापूर्वकाल देखि नै छैन।रोटी र बेटीको सम्बन्ध भएका दुई मुलुक हाल विश्वव्यापीरुपमा फैलिएको रोग र खुल्ला सिमाना अव्यवस्थित हुनु दुवै मुलुकको लागि चिन्ता को विषय बनेको छ।
वषौंदेखि रहेको सिमाना विवाद नटुंगिने अहिले कालापानी, लिम्पियाधुरा, सुस्तालगायत क्षेत्र नेपालको भूगोल थियो भन्ने न्यारेटिभ बनाउनुको हामीसँग विकल्प छैन ।
ती क्षेत्रमा भारतीय सेनाले आफ्नो ब्यारेक बढाइरहँदा नेपाल सेना भने मौन थियो । बास्तवमै नेपाली सेनाको स्पष्ट न्यारेटिभ बन्न सकेन कि सेनाको मुख्य दायित्व के हो ? देशको सुरक्षा गर्ने भन्ने भनाइ रहे पनि कोबाट कस्तो अवस्थामा र कुन क्षेत्रफल जोगाउन हो भन्ने विषयमा स्पष्ट न्यारेटिभ नबनाएको नेपाली सेना भद्रकालीको सेनापतिको कार्यालय वरिपरी परेड खेल्नमै सिमित रह्यो । नत्र भने नेपाल एकीकरणदेखि सुगौली सन्धी हुँदै जंगे स्तम्भ गाड्दै सधै खुकुरी बोकेर जागा रहने नेपाली सेनाको नाकमुन्तिरबाट कालापानी क्षेत्र भारतले कसरी कब्जा गर्न सक्यो । त्यसको निरन्तरताबिच पनि नेपाली सेना किन कहिल्यै बोलेन ? सेनाले बोल्दैन भन्ने न्यारेटिभ बनाएपछि के सजिलो भयो भने देशको भूगोल छिमेकीले कब्जा गरिरहँदा पनि तिनै हजारौँ सेनापतिलाई मानार्थ सेनापति मान्दै भोजभतेर आदान–प्रदान गर्न पाइयो । जनताको आन्तरिक र राजनीतिक मामिलामा नबोल्ने हो त देशको सार्वभौमिकतामाथि हस्तक्षेप हुँदा आँखा चिम्लेर बस्ने कस्तो न्यारेटिभ बनाएको हो नेपाली सेनाले ? उसले अब त्यो बदल्नुपर्छ ।
नेपाल–भारत खुला सिमानाको समस्या बहुआयामिक छन् र व्यवस्थापन गर्ने उपाय पनि त्यति सजिला छैनन् । यो आंशिक रूपमा नियन्त्रित भए पनि यसको स्वभाव खुला नै हो । जहाँ लाखौँ लाख मानिस एकअर्काको सीमा वारपार गर्छन् र जसले एकअर्काका देशमा कुनै आधिकारिक प्रमाणविना काम गर्छन्, त्यसलाई खुला नै भन्नुपर्छ । यो छिद्रित (पोरस) सिमाना होइन । तर, दुई राष्ट्रका पहिचानका लागि कतिपय पक्षमा भने खुलापनलाई सीमित गरिएको छ । नेपाल र भारतको सम्बन्ध अतुलनीय र विचित्रको छ । तर, आफ्नै परम्परा र सभ्यताले धनी भएकाले दुवैका पहिचान र सभ्यता पनि विशिष्ट छन् । भूगोल यस्तो सम्बन्धलाई निर्धारण गर्ने तन्तुका रूपमा सधैँ रहन्छ । यस्तो बहुआयामिक सम्बन्धलाई व्यवस्थापन गर्ने तरिका पनि दरिलो र भरिलो हुनुपर्छ ।
नेपाल–भारत सम्बन्धका सन्दर्भमा चीन स्वतः आउँछ किनभने नेपालको उत्तरी सीमा चीनसित मात्र जोडिएको छ । भारत पनि चीनसित जोडिएको र तिब्बतका कारण चीन–भारत सम्बन्ध बिग्रिएर सीमा युद्धसम्म पुगेको हो । तर, त्यसपछि दुवै देश लडाइ“मा होमिएका छैनन् र अब त उनीहरू सहकार्य गर्दै प्रतिस्पर्धात्मक सम्बन्धमा पुगेका छन् ।चीनको भारतसितको स्वार्थ आर्थिक र रणनीतिक दुवै छन् किनभने चीन भारतजस्तो व्यापारको सम्भावना भएको देशसित शत्रुतापूर्ण सम्बन्धमा रहिरहन सक्दैन, न त उसले भारतलाई उसविरुद्ध लाग्ने देशसित पूर्ण रूपले संलग्न भएको हेर्न चाहन्छ । आज चीन विश्वशक्ति राष्ट्र हुने आकांक्षा बोकेर हिँडेकाले उसले अमेरिकासित खास प्रतिस्पर्धा गर्छ र अन्य देशसित भने राम्रो सम्बन्ध कायम राख्ने कोसिस गर्छ ।
धेरैले सुरक्षा फौज बढाई नियन्त्रण गरे सीमा समस्या समाधान गर्न धेरै बल पुग्ने तर्क गर्छन् । त्यो एक पक्ष भए पनि अनेक मानवीय समस्या पनि छन्, जसको समाधान त्यति सजिलो छैन । खुला सीमालाई दसगजा अर्थात् नो म्यान्स ल्यान्डले अलग गरेको हुनुपर्ने हो । तर, आज धेरै ठाउ“मा दसगजा पाउन गाह्रो छ किनभने खालि ठाउ“ दुवैतिरका जनताको बसोवास गर्ने थलो भएको छ ।
यदि नेपाल र भारत सरकारले सम्पूर्ण सीमामा दसगजा कायम गर्ने हो भने त्यहा“का मानिसको बसोवास अन्यत्रै सार्नुपर्ने हुन्छ । यसका लागि आर्थिक, मनोवैज्ञानिक, राजनीतिक र राज्यशक्तिको आवश्यकता पर्छ । दुवै देशका सरकार यस कार्यप्रति प्रतिबद्ध भए सीमा कायम गर्न सकिन्छ । यो मानवीय समस्याका रूपमा आइसकेको छ र यसको समाधान भरसक मानवीय तरिकाबाटै हुन सक्दा राम्रो हुन्छ ।
भारतमा संक्रमणको संख्या बढनु स्वाभाविक पनि हो किनभने त्यहाँ जनसंख्याको आकार अत्यन्तै ठूलो छ।जसले गर्दा नेपाललाई जोखिम दिन प्रति दिन बढ्दो छ।सीमा वारपार गर्न दुईतर्फ का मानिसलाई परिचय खुल्नी या तोकेका नाका सिमचौकी बाट मात्र वार पार गर्नी नियम बाँधिएको छैन।तारबार ,पर्खाल जस्ता कुनै छेक वार नभएको कारण जसले पनि जुनसुकै आली ,कुलो,पैनी बाट ओहोरदोहोर गर्दै आएको सर्वविधित नै छ।यसरी दुई देशको सीमालाई अव्यवस्थित राखेर अनाधिकृत प्रवेश र आतंकवादी गतिविधि रोक्न कदापि सहयोग पुग्दैन।यस वास्तविकता लाई दुवै देशका सरकारले बुझ्नुपर्ने बेला आएको छ।
हाल यो रोग को कारण दुवै मुलुक लक डाउनको कारण सिमानाकाहरु बन्द गरिएता पनि लुकिछिपि नेपाली तथा भारतीय नागरिक आवतजावत गर्दा यो रोगको संक्रमण बढिरहेको छ।यस्तो अवस्थामा दुवै मुलुक गम्भीर भई खुल्ला सिमाना व्यवस्थित गर्न दीर्घकालीन सोचका साथ अगाडी बढनु पर्ने बेला आएको छ अन्यथा यस्तो खुल्ला सिमानाले आर्थिक लाभ भन्दा मानवीय क्षति हुने पक्का छ।
देश भनेको भूगोल मात्र होइन, जनता हुन् । यही कुरालाई सरकारले आत्मसात गर्नु पर्छ । नेपाल सरकार कोरोना भाइरसको रोकथाममा सम्पूर्ण शक्तिका साथ लागेको छ । यसको फलस्वरुप हालसम्म कोरोनाका कारण १७ जना भन्दा कम संक्रमण भएका ४९ वटा देशभित्र पनि सबैभन्दा धेरै टेष्ट गर्ने राष्ट्रका रुपमा हामी पर्न सफल भएका छौ ।
खुल्ला सिमाना मुख्य चुनौति छ, सरकारले चाहेर मात्र सम्भव छैन् आम नागरिक सचेत हुनुपर्छ। सरकारले निर्देशीत गरेका नियम हरु पालन गरी घरमै केही समय अझै बसौ र यो महामारी बाट बच्न स्वयम सचेत बनौं।
अन्त्यमा सम्पूर्ण नेपालीहरु देश विदेशमा रहनुभएका सबैलाई नयाँ वर्ष २०७७साल को मंगलमय शुभकामना।