पुर्ण खोप पालिका दिगोपनामा जिल्लामै प्रथम सुस्ता
श्याम थापा
सुस्ता १७ जेठ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका पुर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपनामा जिल्लाकै प्रथम पालिका घोषणा भएको छ ।
सुस्ता गाउँपालिकाको कार्यालयलाई आज बिहिवारको दिन जिल्ला खोप समन्वय समिति पश्चिम नवलपरासीले एक कार्यक्रम गरि खोप सुनिश्चितता तथा दिगोपनाको आधारमा जिल्लाकै ७ वटा स्थानीय तह मध्येमा सुस्ता गाउँपालिकाको कार्यालय प्रथम भएको घोषणा गर्दै पालिकालाई प्रमाणपत्र दिएको छ ।

पालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयता, जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती यादव (रुदल)को प्रमुख अतिथ्यता र जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको बिशेषअतिथ्यतामा भएको पुर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा समारोह कार्यक्रममा सुस्ता गाउँपालिकालाई खोप दिगोपनामा जिल्लाकै प्रथम स्थानीय तह घोषणा गरिएको हो ।
पालिका भित्र छुटेका बालबालिकाहरुलाई खोज र खोप अभियान सम्पुर्ण वडामा अभियान चलाएर ९८ जना खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप लगाई पालिकालाई पुर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि पालिकाले सुचक अनुसार लक्ष्य प्राप्त गरेपछि जिल्लामा सुस्ता गाउँपालिकालाई प्रथम स्थान हासिल गराउन सफल भएका सम्पूर्ण स्वास्थ्यकर्मी,जनप्रतिनिधि र सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकालाई पालिका अध्यक्ष टेक नारायण उपाध्यायले विशेष धन्यवाद व्यक्त गरेका छन् ।

पालिका अध्यक्ष उपाध्यायले आफू जननिर्वाचित भएर आएपछि स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमिकता राखेर काम गर्दै आएको र आफ्नो पालिका जिल्लामै खोप दिगोपनामा प्रथम स्थान घोषणा हुन पाउदा अब सुस्ताले पनि स्वास्थ्य क्षेत्रमा केही खुड्किला पार गरेको उनले बताए ।
त्यस्तै खोप दिगोपना घोषणा समारोह कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले स्वास्थ्य क्षेत्रमा मात्र नभई अन्य हिसाबले सुस्तालाई एक किसिमको पछाडि मानिने पालिका जिल्लाकै ७ वटा स्थानीय तह मध्ये खोप दिगोपनामा प्रथम स्थानमा आउँदा अब सुस्ता गाउँपालिका स्वास्थ्य क्षेत्रमा अब्बल हुँदै गएको संकेत दर्शाउदै जिल्लामै पालिकालाई प्रथम बनाउन अहोरात्र खटेका स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकालाई धन्यवाद व्यक्त गर्दै प्रमाणपत्रमा सबैको हकदार रहेको बताएका छन् ।

त्यसैगरी समारोह कार्यक्रमका विशेषअतिथि एवं जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले स्वास्थ्य यस्तो चिज हो जब स्वास्थ्य बलियो हुँदैन तब सम्म शिक्षा क्षेत्र पनि बलियो नहुने र मानिसको शरिरिक जब स्वस्थ हुन्छ तब मान्छेलाई पढ्न,रोजगार गर्न,खेल्न लगायत तर्फ ध्यान जाने गर्दछ त्यसैले सुस्ता गाउँपालिकाको सम्पुर्ण टिमको अथक प्रयासले पालिकालाई खोप दिगोपना जिल्लामा प्रथम बनाउन सफल भएकोमा सुस्ताबासीलाई धन्यवाद व्यक्त गरेका थिए ।
पुर्ण खोप पालिका सुनिश्चितता र दिगोपना घोषणा समारोह कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले सुस्ता गाउँपालिकाले खोपको सम्पुर्ण सुचक अनुसार लक्ष्य प्राप्त गरेको र पालिकाले खोज र खोप अभियान चलाएर पालिका भित्रका कुनैपनि बालबालिकाहरु नछुट्ने गरि काम गरे अनुसार पालिकाले ९८% प्रतिशत लक्ष्य पूरा गरेको हुदा जिल्लामै सुस्ता गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएको र खोप सुनिश्चितता र दिगोपना घोषणा पालिका भयो भनेर निदाउन नपाउने यो अभियानलाई जहिले पनि निरन्तरता राख्नका लागि सुस्ताका जनप्रतिनिधी,स्वास्थ्यकर्मी र महिला स्वयंसेविकालाई आग्रह गरेका छन् ।

त्यस्तै पुर्ण खोप दिगोपनामा जिल्लाकै प्रथम स्थानमा सुस्ता गाउँपालिका भएकोमा आफ्नो टिमले एकदमै राम्रो काम गरेको र जिल्ला खोप समन्वय समितिका सम्पुर्ण टिमले विभिन्न चरण अनुगमन गरि स्वास्थ्यको सुचक अनुसार लक्ष्य प्राप्त भएको भन्दै जिल्लामै प्रथम पालिका घोषणा गरिदिएको धन्यवाद व्यक्त गर्दै अगामी दिनमा पालिकाले अझ अन्य शिर्षक वा क्षेत्रगतमा फड्को मार्दै जाने सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताएका छ्न । भने त्यसैगरी सुस्ता गाउँपालिका वडा न ३ का वडा अध्यक्ष हरिलाल दुसाधले पालिका पुर्ण खोप दिगोपनाको आधारमा जिल्लामा पहिलो भएकोमा खुशी व्यक्त गरेका थिए ।

सो घोषणा समारोह कार्यक्रममा स्वास्थ्य प्रतिबेदन सुस्ता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निर्मला कुशवाहाले गरेकी थिइन् भने कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्यबाट पालिकाकी उपाध्यक्ष गिता चौधरीले गरेकी थिइन् ।
सो समारोहमा सुस्ता गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेको ६ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी,स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई संयुक्त रूपमा प्रमाणपत्र र खादाबाट सम्मान गरिएको थियोे ।